किरण
अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनमा चिन्तन, कार्यशैली र कार्यदिशाको क्षेत्रमा जडसूत्रवाद र अनुभववादका समस्याहरू बारम्बार प्रकट हुँदै आएका छन् । सिद्धान्त र व्यवहार, सामान्य र विशेष, सारतत्व र दृश्यरूपबीच द्वन्द्वात्मक एकत्व कायम गर्ने र भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम विपरीतहरूको एकत्वलाई बुझ्नेबारे सही चिन्तनको विकास हुन नसक्दा जडसूत्रवाद र अनुभववादका विचलनहरू पैदा हुन्छन् । मार्क्सवादी ज्ञानसिद्धान्तलाई ठीकसँग बुझ्न र सही चिन्तन, कार्यशैली तथा कार्यदिशाको विकासका लागि जडसूत्रवाद र अनुभववादका विरुद्ध सैद्धान्तिक संघर्ष चलाउनु आवश्यक हुन्छ ।
जडसूत्रवाद भनेको सिद्धान्तलाई स्थिर, जड र अपरिवर्तनीय धर्मसूत्रका रूपमा ग्रहण गर्नु हो । जडसूत्रवादको एउटा मूल विशेषता सिद्धान्तलाई व्यवहारबाट कटाउनु हो । यसले सिद्धान्तमा त खुबै जोड दिन खोज्दछ तर त्यसलाई व्यवहारमा प्रयोग गर्ने तथा सामाजिक जीवन र क्रान्तिको क्षेत्रमा लागू गर्ने काममा पटक्कै ध्यान दिन्न । यसले सामान्यीकरणमा त जोड दिन्छ तर विशिष्टिकरणको महत्त्वलाई पटक्कै बुझ्न सक्दैन । त्यसैगरी जडसूत्रवादको अर्को मूलः विशेषता भनेको सिद्धान्तको विकासमा अवरोध खडा गर्नु हो । यसले वस्तुको पुरानो अन्तर्वस्तु र सारतत्वलाई पक्डेर बसिरहन्छ, तर वस्तुको विकसित नयाँ अन्तर्वस्तु र सारतत्वलाई ठम्याउन सक्दैन । यसले नयाँ अनुभवबाट सिद्धान्तलाई समृद्ध र विकसित तुल्याउने कुरामा ध्यान दिंदैन ।
अनुभववाद भनेको जडसूत्रवादको ठीक विपरीत ध्रुवमा खडा रहेको चिन्तन हो । अनुभववादले जीवन र जगतका नयाँ अनुभव र व्यवहारमाथि त ध्यान दिएको हुन्छ, परन्तु सिद्धान्तको महत्त्वलाई भने बुझ्न सकेको हुँदैन । त्यसैगरी यसले विशिष्टीकरणमा बढी जोड दिंदै सामान्यीकरणको महत्त्वलाई गिराउने काम गर्दछ । त्यस्तै, यसले कुनै वस्तु, घटना र प्रक्रियाको दृश्यरूपमाथि त ध्यान दिएको हुन्छ, परन्तु, त्यसको सारतत्वलाई ठम्याउन सकेको हुँदैन । यसले इन्द्रीयग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा फड्को हान्ने कुरालाई ग्रहण गर्न सकेको हुादैन । संक्षिप्तमा भन्नुपर्दा अनुभववादले जीवनका अनुभवहरूलाई सिद्धान्तको स्तरमा उठाउन सकेको हुँदैन । अनुभववादले व्यवहारबाट सिद्धान्तमा जाने ज्ञानसिद्धान्तको मान्यतालाई अवलम्बन गर्न सक्दैन ।
माओको भनाइमा बुद्धिजीवी समुदायबाट पार्टीमा आउने साथीहरू जडसूत्रवादको शिकार भएका हुन्छन् । उनीहरूले आफूलाई कितावी ज्ञानमा सिपालु र सिद्धान्तको ज्ञाता ठानेर मजदुर–किसानबाट पार्टीमा आएका साथीहरूलाई हेप्ने गर्दछन् । अर्कोतिर, किसान–मजदूरबाट पार्टीमा आएका साथीहरू अनुभववादमा फासेका हुन्छन् । उनीहरूले आफुलाई व्यवहार र अनुभवका धनी ठान्दछन्, तर त्यस प्रकारका व्यवहार र अनुभवलाई सिद्धान्तमा ढाल्न सकेका हुादैनन् । उनीहरू सिद्धान्त र किताबी ज्ञानमा कमजोर हुन्छन् । माओका यस प्रकारका भनाइहरू नेपालका सन्दर्भमा पनि लागु हुन्छन् । साथै, दक्षिणपन्थीहरू अनुभववाद र उग्रवामपन्थीहरू जडसूत्रवादमा फासेका उदाहरणहरू दुनियाामा प्रसस्तै पाइन्छन् र यो कुरा नेपालमा पनि लागु हुन्छ ।
जडसूत्रवाद र अनुभववाद मनोगतवादका दुई भिन्न रूप हुन् । जडसूत्रवाद कुन अर्थमा मनोगत हुन्छ भने, यसले वस्तुगत पक्षको महत्त्वलाई नकार्ने काम गर्दछ र यो व्यवहारबाट कटेको हुन्छ । त्यसैगरी अनुभववादले पनि व्यक्तिगत प्रकारका अनुभवहरूलाई बढी जोड दिने गर्दछ । जडसूत्रवाद र अनुभववाद अधिभूतवादका भिन्न रूप पनि हुन् । यी दुवै एकपक्षीय रहेका हुन्छन् । जडसूत्रवादले व्यवहार र अनुभववादले सिद्धान्तको महत्त्व गिराएर एकपक्षीयताको पक्षपोषण गर्दछन् ।
वस्तुजगत र सामजिक जीवन निरन्तर परिवर्तनको प्रक्रियामा हुन्छन् । पुराना अन्तर्विरोधहरू फेरिन्छन र नयाँ अन्तरविरोधहरूले जन्म लिन्छन् । जडसूत्रवादीहरूले विकसित हुँदै गैरहेको यस प्रकारको नयाँ स्थितिलाई बुझ्न सक्तैनन् । दुनियाँ धेरै अगाडि बढिसकेको हुन्छ, तर उनीहरूको सोंच्ने र काम गर्ने तरिका पुरानै हुन्छ । त्यसैगरी अनुभववादीहरूले पनि वस्तुजगत र सामाजिक जीवनका नयाँ र समृद्ध अनुभवहरूलाई सिद्धान्तको स्तरमा उठाउन सक्तैनन्. र उनीहरूको पनि सोच्ने र काम गर्ने तरिका पुरानै हुन्छ ।
दर्शनशास्त्रको इतिहासमा जडसूत्रवादको श्रद्धावाद र अनुभववादको शंकावादमा पतन भएको पनि पाइन्छ । श्रद्धावादले तर्क होइन केवल विश्वासलाई मात्र मान्छ । यसले कुनै पनि चिजको वैज्ञानिक जाँचबुझ गर्दैन, हरेक चिजप्रति अन्धश्रद्धा जाहेर गर्दछ । त्यसैगरी शंकावादले कुनै पनि कुराप्रति विश्वास गर्दैन र जताततै शंका प्रकट गर्दछ । शंकावाद अज्ञेयवादकै एउटा रूप हो । श्रद्धावादले सिद्धान्त, र नेतृत्वलाई धार्मिक मतवाद र देवत्वकरणको अवस्थामा पुर्याउने कामगर्दछ भने शंकावादले सिद्धान्त र नेतृत्वप्रति पूरै आशंका र अविश्वास जाहेर गर्दछ । श्रद्धावाद र शंकावाद सिद्धान्त र नेतृत्वलाई ठीकसंग बुझ्ने र क्रन्तिका कामलाई अगाडि बढाउने काममा निकै बाधक बनेका हुन्छन् । यी दुवै आदर्शवादीकै रूप हुन् । लेनिनले रुसी कम्युनिष्ट आन्दोलनमा विद्यमान श्रद्धावाद र शंकावादको कडा विरोध गर्नु भएको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा जडसूत्रवादले एकमनावाद र अनुभववादले बहुलवादको रूप लिएको पनि पाइन्छ । विपरीतहरूको एकत्वको नियमलाई बुझ्ने सर्न्दभमा चिन्तनका दूई भिन्न धाराका रूपमा एकमनावाद र बहुलवाद देखा पर्ने गरेका छन् । एकमनावादले विपरीतहरूबीचको एकरूपतालाई निरपेक्ष एकरूपता अर्थात समरूपताका अर्थमा ग्रहण गर्दछ र त्यहाँ कुनै पनि प्रकारको संघर्ष र अन्तरविरोध देख्दैन । त्यस्तै बहुलवादले विपरीतहरू बीच भिन्नता मात्र देख्तछ एकरूपता होइन । अनवर होक्जाको जडसूत्रीय संशोधनवाद र यूरो कम्युनिज्मको बहुलवादलाई यसरी नै लिन सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि लामो समयदेखि जडसूत्रवाद र अनुभववादले प्रदूषित तुल्याउँदै आएका छन् । मोहन विक्रमसिंहको जडसूत्रीय संशोधनवाद र एमालेको बहुदलीय जनवाद यसै वैचारिक प्रदूषणका अभिव्यक्ति हुन् ।
जडसूत्रवाद र अनुभववादको चर्चा गर्ने प्रसंगमा विशेष ध्यान दिनु पर्ने कुरा के छ भने मार्क्सवादको सृजनात्मक विकास गर्ने प्रश्नमा यी दुवैले गंभीर प्रकारको अवरोध खडा गर्दै आएका छन् । जडसूत्रवादले रुढीवादी कोणबाट मार्क्सवादको सैद्धान्तिक रक्षाको नाममा मार्क्सवादको सृजनात्मक विकासमा गंभीर अवरोध पुर्याउदै आएको छ भने अनुभववादले दक्षिणपन्थी कोणबाट मार्क्सवादको सृजनात्मक विकासको नाममा मार्क्सवादकै परित्याग गरेको छ ।
अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्देलनामा देखा पर्दैआएका तमाम प्रकारका जडसूत्रवाद र अनुभववाद, श्रद्धावाद र शंकावाद, एकमनावाद र बहुलवादको विरोध र मार्क्सवाद–लेनिनवाद–माओवादको सृजनात्मक विकासका लागि प्रचण्डपथले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ । नेपालमा संचालित एघार वर्षको महान् जनयुद्धका बीचबाट पचण्डपथको यस प्रकारको भूमिका सशक्त रूपमा उजागर भएको छ । े
जडसूत्रवाद र अनुभववादलाई वैचारिक रूपमा परास्त गर्दै मार्क्सवादको सृजनात्मक विकास गर्न र पार्टीका कमरेडहरूको अध्ययन गर्ने, सोच्ने तथा काम गर्ने शैलीलाई क्रान्तिकारी तथा वैज्ञानिक तुल्याउनलागि ज्ञानसिद्धान्तको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादको दृढतापूर्वक अवलम्बन गर्न जरुरी छ ।
माओले ज्ञानसिद्धान्तको द्वन्द्वात्मक भौतिकवादी मान्यतालाई व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने पद्धतिको रूपमा प्रस्तुत गर्नु भएको छ । मार्क्सवादी ज्ञान सिद्धान्तको मूल विशेषता भनेको सिद्धान्त र व्यवहारका बीचमा द्वन्द्वात्मक एकत्व कायम गर्नु हो । सिद्धान्त र व्यवहार बीच एकरूपता कायम गर्ने काम प्रकृति, सामाजिक जीवन र क्रान्तिको विकासको प्रक्रियामा आधारित हुन्छ । यो व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने प्रक्रिया हो र यही प्रक्रियामा मानव जातिको ज्ञान निरन्तर समृद्ध बन्दै जान्छ । जडसूत्रवादको वास्तविक विरोध सिद्धान्तलाई व्यवहारमा ढाल्ने र वास्तविक जीवनका अनुभवहरूबाट सिद्धान्तलाई नयाँ ढंगले संमृद्ध तुल्याउने प्रकृयाका बीचबाट मात्रै हुन सक्दछ । त्यसैगरी अनुभववादको वास्तविक विरोध सामजिक जीवनका अनुभवका बीचबाट व्यवहारलाई संश्लेषण गर्ने र सिद्धान्तको स्तरमा उठाउने प्रकृयामानै हुनसक्दछ ।
माओले जडसूत्रवाद र अनुभववादका विरोधमा संघर्ष चलाउने प्रकृयामा बुद्धिजीवी क्षेत्रबाट पार्टीमा आएका सिद्धान्तको ज्ञान हुने साथीहरूले क्रान्ति र आन्दोलनका विभिन्न व्यवहारिक गतिविधिहरूमा भाग लिनु पर्ने र मजदुर किसानबाट पार्टीमा आएका क्रान्ति वा व्यवहारको अनुभव हुने साथीहरूले सिद्धान्त र किताबी ज्ञानको अध्ययन गर्नु पर्ने कुरामा विशेष जोड दिनुभएको थियो । यो कुरालाई हामीले गंभीरतापूर्वक लिनु पर्दछ । यसैगरी श्रद्धावादको रूपमा देखापर्ने जडसूत्रवाद र शंकावादको रूपमा देखापर्ने अनुभववादका विरुद्ध संघर्ष गर्नुपर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । हामीले एकातिर सिद्धान्त र नेतृत्वप्रति अन्धश्रद्धा जाहेर गर्ने श्रद्धावाद र अर्कोतिर सिद्धान्त र नेतृत्वप्रति आशंका र अविश्वास फैलाउने शंकावाद दुवैको विरोध गर्नुृ पर्दछ । हामीले क्रान्तिकारी सिद्धान्त र नेतृत्वप्रति हमेशा उच्चप्रकारको निष्ठा र सम्मानभाव प्रकट गर्नुपर्दछ ।
प्रचण्डपथले जडसूत्रवाद र अनुभववादको विरोध र द्वन्द्वात्मक भौतिकवादको पक्षमा सिद्धान्तको रक्षा, प्रयोग र विकासको आवश्यकतामाथि पूरा जोड दिंदै आएको छ । सिद्धान्तको रक्षाको अर्थ अनुभववादका विरुद्ध संघर्ष हो । सिद्धान्तको प्रयोगको अर्थ जडसूत्रवादका विरुद्ध संघर्ष हो । सिद्धान्तको विकासको अर्थ जडसूत्रवाद र अनुभववाद दुवैका विरुद्ध संघर्ष हो । प्रचण्डपथको निर्माण मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका आधारमा नै भएको हो । हामीले जडसूत्रवाद र अनुभववादको विरोध गर्ने प्रक्रियामा प्रचण्डपथद्वारा विकसित सिद्धान्तको रक्षा, प्रयोग र विकासको मान्यतालाई दहृोसंग पकड्नुपर्दछ ।
एकमनावाद र बहुलवादको विरोध गर्ने प्रकृयामा मालेमा र प्रचण्डपथद्वारा विकसित भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम, विपरीतहरू बीचको एकत्वको नियमलाई राम्रोसंग आत्मसात् गर्न जरुरी छ । भौतिकवादी द्वन्द्ववादले के कुरा मान्दछ भने विपरीतहरू बीच एकैसाथ एकता र संघर्ष चल्ने गर्दछ र एक निश्चित अवस्थामा विपरीतहरूको एकअर्कोमा रूपान्तरणका बीचबाट नयाँ एकरूपता कायम हुन्छ । यस प्रकारको मान्यतालाई दृढतापूर्वक आगालेर नै विपरीतहरूको एकतालाई निरपेक्ष एकरूपता तथा समरूपताका रूपमा ग्रहण गर्ने जडसूत्रीय एकमनावाद र विपरीतहरू बीचको भिन्नता वा संघर्षलाई नयाँ प्रकारको एकरूपतामा कहिल्यै नबदलिने कुराको वकालत गर्ने अनुभववादी बहुलवादलाई परास्त गर्न सकिन्छ ।
जडसूत्रवाद तथा अनुभववादको विरोध र भौतिकवादी द्वन्द्ववादको सही प्रयोगका लागि गति र परिवर्तनको प्रवाहमा रहेको सिंगो वस्तुजगत र सामाजिक जीवनलाई ठीकसंग बुझ्ने, बदलिएको स्थिति अनुरूप सोच्ने र काम गर्ने तरिकालाई विकसित गर्ने र पार्टीको नीति तथा कार्यदिशाको मर्मलाई ठीकसँग आत्मसात गर्ने तथा तिनलाई सृजनात्मक ढंगले लागू गर्ने बारे विशेष ध्यान दिनु पर्दछ । जडसूत्रवाद र अनुभववादका विरुद्ध संघर्षको वास्तविक विधि पार्टीभित्र सञ्चालन गरिने शुद्धीकरण आन्दोलन नै हो । पार्टी जीवनको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै यस प्रकारको शुद्धीकरण आन्दोलनको सञ्चालन गर्नु आवश्यक हुन्छ ।