
राजनीतिलाई दोषारोपण गर्दैमा राजनीतिक
चरित्र बदलिँदैन । अल्पविकसित समाजमा ‘दोषारोपण’ एउटा संस्कृति बनिसकेको हुन्छ । राजनीति
र राजनीतिज्ञप्रतिको दोषारोपणले मात्र नागरिकको जिम्मेवारी पूरा हुँदैन । किनकि समाजको
संस्कार, सोचाइ, विचार र व्यवहार परिवर्तन नभएसम्म राजनीति सही दिशामा अघि बढ्न सक्दैन ।
राजनीतिलाई सही दिशामा डोर्याउने प्रमुख मार्गदर्शक समाजको चेतना हो र त्यो सामाजिक
चेतना भनेको हामी र हाम्रा सोचाइ, संस्कृति, व्यवहार, मूल्य–मान्यता र आचरणको समष्टि
हो । हामीले आदर्श राजनीतिक दल र आदर्श नेताको परिकल्पना मात्र गर्यौँ, आदर्श नेता
जन्माउन आदर्श समाज चाहिन्छ भन्ने भुलिरह्यौँ । आदर्श नेताका लागि राजनीति/राज्यले
लगानी गर्नुपर्छ भन्ने भुल्यौँ । हुन त देशको सर्वोच्च नीति नै राजनीति हुनाले सबै
बेथितिको दोष राजनीतिलाई दिनु आफैँमा अस्वाभाविक होइन । किनकि, कुनैपनि देश समृद्ध
बन्न त्यसको राजनीति सही दिशामा हुनु अत्यन्तै जरुरी हुन्छ । तर, राजनीतिलाई मात्र
दोष दिएर हाम्रा समस्या समाधान हुन्छन् त ?
हालै सम्पन्न स्थानीय निर्वाचनमा केही
स्थानमा आशालाग्दा युवाले जिते । तर, अपवादबाहेक धेरै स्थानमा, पावर र पैसासँग भोट
साटासाट भएको सुनियो । हुन त निर्वाचनमा पैसा बाँडेर भोट किनेर निर्वाचन जित्नु पनि
नेपालको परिप्रेक्ष्यमा सामान्य जस्तै भइसक्यो । पारदर्शिता र जवाफदेहिता आवश्यक नपर्ने
यो देशको विकृत राजनीतिमा पावर र पैसाका भरमा चुनाव जित्नु नौलो होइन । तर, यसमा दुःखको
कुरा के छ भने निर्वाचनको समयमा नेताहरूबाट पैसा लिएर भोट दिनेहरूमा अशिक्षित र न्यून
आय वर्गका मानिस मात्र छैनन् । धनाढ्य, पढेलेखेका शिक्षित भनिएका र समाजका हर्ताकर्ता
भनिएकाहरू पनि पैसा वा पावरको लोभमा भ्रष्ट र बेइमान नेतालाई जिताउन अघि सरेको देखिन्छ ।
यस अर्थमा हेर्ने हो भने हामीकहाँ सबैभन्दा
बढी समस्या शिक्षित वर्गमै देखिन्छ । समाजका अगुवा भनिएका वर्ग नै बेइमानको दायाँ हात
भएपछि उत्पीडित वर्ग सधैँ पिल्सिरहने र भ्रष्टहरू मौलाइरहने हुँदो रहेछ । र, हामी नागरिकमा
अझ भनौँ, अहिलेको युवा वर्गमा एउटा अर्को पनि समस्या छ, त्यो के हो भने अपवादबाहेक
धेरैजसो युवालाई देशमा के भइरहेको छ, देशको आर्थिक राजनीतिक अवस्था कस्तो छ भन्ने थाहै
छैन र थाहा पाउनु जरुरी छ भन्ने पनि सोच्दैन, अहिलेको पुस्ता । देशमा बढिरहेको विकृति,
विसंगतिविरुद्ध आवाज उठाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि यो मेरो चासोको विषय होइन,
म एक्लै बोलेर के हुन्छ र भनेर बस्छन् आजका युवा ।
देशको आर्थिक अवस्था एकदम जर्जर भइसकेको
छ । खाद्यान्न, तेल, इन्धनको मूल्यवृद्धिले सीमा नाघेको छ, तैपनि हामी बोल्दैनौँ, सब
ठिकठाक छ जसरी चुपचाप छौँ । महँगीले ढाड सेकिएको र बेथितिले पिरोलेको सबै थाहा छ हामीलाई ।
बेथितिको कारण भनेको अहिले राज्यसत्तामा भएका व्यक्ति हुन् भन्ने पनि थाहा छ । त्यही
पनि फेरि निर्वाचन आएपछि पेट्रोल र खाजाको आसमा तिनै भ्रष्टको ‘र्यालीमा जान्छौँ,
पैसाको लोभमा तिनैलाई भोट दिन्छौँ, जिताउँछौँ । हामीमाथि अत्याचार गर भनेर हाम्रो विवेकको
चाबी तिनैलाई दिन्छौँ । अलि पछि तिनै नेतालाई सराप्छौँ । न्यायका लागि हुने आन्दोलन,
बलात्कारविरुद्धको आन्दोलन र कुनै भ्रष्ट नेताको आमसभामा उपस्थित हुने युवाको तथ्यांकबाट
थाहा हुन्छ, हाम्रो मानसिकता कस्तो छ भन्ने ।
अर्कातिर पुँजीवादले थिलथिलो पारेको
हाम्रो मानसिकताले पैसा कमाउनुलाई सबैभन्दा महत्वको विषय बनाएको छ । कहाँबाट कमायो,
कसरी र कुन नियतबाट कमायो, कालो धन हो कि मिहिनेतको कमाइ भन्ने कसैलाई चासो हुँदैन ।
कालो धन आर्जन गरी रातारात करोडपति हुनु प्रतिष्ठाको विषय बनेको छ । पैसा कमाउने होडबाजीले
मान्छेलाई यति गिजोलेको छ कि दुई नम्बरी गरेर पैसा कमाउनुलाई हामी सामान्य ठान्न थालेका
छौँ । पैसा लिएर भोट दिनु नौलो विषय रहेन अब । खराब मान्छेको चाप्लुसी गर्नु सामान्य
लाग्छ । यसको मतलब हाम्रो समाज धेरै विषाक्त र निर्जीव भइसकेको छ, त्यसैले हामीले नेतालाई
मात्र सराप्नु बेकार छ ।
सामान्यभन्दा सामान्य विषयमा पनि हामी
त्यति नै गैरजिम्मेवार छौँ । हिँड्दा चकलेट खायौँ भने खोल त्यतै फालिदिन्छौँ, बाटो
काट्दा जेब्रा क्रसिङको प्रयोग गर्नु आवश्यक ठान्दैनौँ । हुन त हामीले जेब्रा क्रसिङ
प्रयोग नगरेर देश बिग्रेको हो र भन्ने प्रश्न पनि आउला । तर, यस्तै सामान्य विषयमा
हामी गैरजिम्मेवार बनेका कारण नै आज देश यो अवस्थामा पुगेको हो । हामीलाई आफ्नो जिम्मेवारी
के हो भन्ने थाहै छैन । यो देश बिग्रिनुमा जति हामीले चुनेका नेताको हात छ, त्यति नै
गलत नेता चुन्ने हाम्रो पनि हात छ ।