वसन्त ऋतु फूल फुल्ने मौसम पनि हो । यसयाममा लालीगुराँस लगायतका फूलले ढकमक्क ढाकिएका वनपाखाले जोकोहीलाई आकर्षित गर्छ ।
विशेषगरी वसन्त ऋतुमै फुल्ने सुनगाभा फूलको सौन्दर्य पनि कम छैन । सुनगाभालाई सुनाखरी र अर्किड नामले पनि चिनिन्छ । चार हजार मिटरसम्मको उचाइमा फुल्ने सक्ने सुनगाभा सातदेखि १० दिनसम्म निरन्तर फुल्छ ।
सुनगाभा फूल सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि प्रयोग हुने जैविक विविधता अध्येता कमल मादेन बताउँछन् । विभिन्न रंगमा फुल्ने यो फूल निलो रंगमा भने कम फुल्ने उनी बताउँछन् ।
बिरुवाको उत्पादन कसरी गरिन्छ ?
सुनगाभाको बिरुवा जैविक प्रविधिद्वारा प्रयोगशालामा उत्पादन गरिन्छ । बीउलाई केमिकलसँग सम्मिश्रण गरी पटमा राखेर सन्तुलित तापक्रम कायम गर्नुपर्छ ।
महँगो हुन्छ सुनगाभाको बल्ब
सबै सुनगाभाको बल्ब (गानो) मूल्यवान् हुँदैन । भेनला जातको सुनगाभा भने महँगो पर्छ । माडागास्कार र दक्षिणपूर्वी एसियामा पाइने भेनिला किलोको ६०० डलरसम्म पर्ने मादेन बताउँछन् । यो केक र आइसक्रिम बनाउन प्रयोग हुन्छ । नेपालमा पाइने डेन्ड्रोडियम, पिउनी लगायतका ५० भन्दा माथिका सुनगाभाको बल्ब औषधि बनाउन उपयोगी हुने भएकाले विदेश निर्यात हुन्छ । लामो समयसम्म बाँचिरहने र निरन्तर फुलिरहने भएकाले सौन्दर्यका साम्रगी उत्पादनमा यसको बढी प्रयोग गरिन्छ ।
पानी र मलजल
सुनगाभा एउटै हाँगामा दुई महिनासम्म पनि फुलिरहन्छ । एउटा फूल दुई-तीनसम्म फुल्छ र फेरि कोपिला लाग्छ । फुल्दै झर्दै जाने भएकाले यो लामो समयसम्म रहन्छ ।
सुनगाभा रुख र ढुंगामा बढी हुन्छ । घरमै फुलाउन गमलामा थोरै माटो, काठको टुक्रा र कोइला राख्नुपर्छ । यसको जरामा पानी जम्मा गर्ने सेल भएकाले कैयौं दिनसम्म पानी नहाल्दा पनि यो मर्दैन । हावाबाट चिसो पनि सोस्ने भएकाले मलजल हालिरहनु पर्दैन । धेरै पानी पनि नचाहिने भएकाले विशेष यस्तै गमला चाहिन्छ भन्ने छैन ।
कति पर्छ मूल्य ?
सुनगाभाको मूल्य प्रजाति हेरेर हुन्छ । दुर्लभ जातको सुनगाभाको मूल्य बढी पर्ने मादेन बताउँछन् । उनका अनुसार २० वर्षअघि स्थानीय जातको सुनगाभाको बिरुवा चार हजार रुपैयाँमा बिक्री भएको थियो ।
अहिले तीन हजारदेखि १५ हजार रुपैयाँसम्ममा यसको बिरुवा बिक्री हुने गरेको छ । यसको दाना भने किलोको १० देखि ३० हजारसम्म पर्दछ ।