नेपाली राजनीतिको ट्र्याजेडी नै भन्नुपर्छ, ओलीको सत्तारोहणपश्चात् दक्षिणपन्थी र धार्मिक कट्टरपन्थीको वैचारिकी निकै मौलायो । ओलीको शक्तिको स्रोत उग्र राष्ट्रवाद, घृणा राष्ट्रवादमा आधारित रहेकोमा कुनै द्विविधा रहेन । भारतमा बिजेपी र मोदीलाई एक–अर्काको पर्यायका रूपमा लिइन्छ । मोदीले भारतमा जबर्जस्त चलाएको तीव्र पराइकरण– अस एन्ड देमको राजनीतिलाई नेपालमा ओलीले कुशलतापूर्वक संस्थागत गर्दै गएका छन् । ओली नरेन्द्र मोदीका असली अनुयायी देखिन थालेका छन् । यसबाट मोदी क्षत्रछायाको भारत ओलीसँग जरुर खुस भएको हुनुपर्छ ।
बहुसंख्यकवाद र सीमान्तीकरण : मोदीले बहुसंख्यकवादको आडमा भारतीय समाजलाई तीव्र ध्रुवीकरण र राज्यलाई एलिटहरूको स्वर्गमा रूपान्तरण गरेका छन् । भारतका मुस्लिम, बुद्धिस्टलगायत इतर धर्मालवम्बीहरू अहिले मोदीको प्रहारको केन्द्रमा छन् । हिन्दू जाति र धर्मलाई राजनीतिको मूल दर्शनमा परिणत गराएर आफ्ना राजनीतिक अभीष्ट पूरा गर्ने हरसम्भव प्रयत्न भएको छ । भारतीय समाजमा ब्राह्मण र हिन्दू जातिको वर्चस्व र सर्वोच्चता अहिले मोदीको एक मात्र मिसन बनेको देखिँदै छ । भारतभित्रका गैरहिन्दू, सामाजिक रूपले बहिष्करणमा रहेका समूहमाथि अनुदारवाद हावी भएको छ । जसरी नरेन्द्र मोदी गैरहिन्दूप्रति असहिष्णु हुँदै आए, ओली पनि त्यही लाइनमा हिन्दूहरूलाई आकर्षित गर्न कटिबद्ध देखिन्छन् । बहुसंख्यकवादको आडमा ओलीले पनि नेपालमा सीमान्तीकृत समूहहरूलाई झनै सीमान्तीकरण गर्दै छन् ।
जसरी भारतमा मोदीबाट आरक्षणलगायतका अल्पसंख्यक तथा सीमान्तीकृतहरूका अधिकारलाई खोस्ने कार्य भयो, त्यसरी नै नेपालमा पनि ओली नेतृत्वकै सरकारले इतिहासमै करिब १० हजार कर्मचारीको विज्ञापन गर्दा प्रचलित कानुनले दिएको ४५ प्रतिशत अधिकारलाई मिचेर २० प्रतिशत मात्र आरक्षणको विज्ञापन गरियो । नेपालको कर्मचारीतन्त्रमा खस–आर्य समूहको ८० प्रतिशत बोलवाला रहिरहेको परिप्रेक्ष्यमा सोही समूहलाई २८.५ प्रतिशत आरक्षण दिने सैद्धान्तिक सहमतिसहित निजामती ऐन पारित गराउने कसरत हुँदै छ ।
राम मन्दिरको राजनीति : भारतमा बिजेपीले आयोध्याको राम मन्दिरको विषयलाई लिएर हिन्दूकेन्द्रित राजनीति गर्दै आइरहेको छ । चार दशकअगाडि सिंगो भारतमा जम्मा दुई सिट जितेको बिजेपीले अहिले दोस्रो कार्यकालको नेतृत्व गरिरहेको छ । केन्द्रमा बिजेपीको एकलौटी नै छ, विभिन्न प्रान्तमा एकल वा संयुक्त नेतृत्वमा सरकार छन् । अहिले भारतभरि नै बिजेपीको बलियो संगठन र सञ्जाल छ । आयोध्यामा बाबरी मस्जिद भर्सेज राम मन्दिरको राजनीतिलाई उछाल्दै आएको बिजेपीले अन्ततः समग्र कट्टर हिन्दू जनमतलाई पोल्टामा पारी असहिष्णु र घृणाको राजनीति गर्दै आएको छ ।
ओलीले खेलेको राजनीतिको यो तुरुप उनका लागि आउँदा दिनमा निकै घातक र अफापसिद्ध हुने पक्कापक्की छ । नेपाली राजनीतिको अँध्यारो सुरुङको यात्रा सुरु भइसकेको छ । देश र जनताले दुःख पाउने र त्यसको एकलौटी दोष वर्तमान प्रधानमन्त्री केपी ओलीमा थोपरिने पनि निश्चित छ ।
त्यो स्थितिलाई नजिकबाट बुझेका ओलीले आफैँले तय गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारामा केही गर्न नसकेपछि अहिले रामको जन्मस्थल आयोध्याकै दाबी ठोरीमा गरेर बिजेपीलाई उछिन्ने काम गरेका छन् । तथ्यांक वा मिथ्यांक जे भए पनि नेपालको हिन्दू जनसंख्या ८० प्रतिशतभन्दा माथि रहेको परिस्थितिलाई आकलन गरेरै ओलीले राम जन्मस्थलको कार्ड खेलेको देखिन्छ । केही दिनअघि ओलीले आफ्नै पैसाले निर्माण गरेको भनिएको राम र सीताको पूर्णकदको मूर्ति बालुवाटारबाट देखाउने काम सम्पन्न भएको छ । मोदीले निर्वाचनको ठीक पूर्वसन्ध्यामा जनकपुरमा रामजानकी मन्दिरको दर्शन गरी हिन्दू जनमतलाई आफ्नो पोल्टामा पारी दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भई शक्तिशाली सरकारको नेतृत्व गर्न पुगेको देखेपछि ओलीले पनि भर्खरै पशुपतिमा लाख बत्ती बाल्ने र जालारीका लागि करोडौं रकम दिने सुविचारित कदम चालेका छन् ।
ओलीले नेपालको संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षताको मर्ममाथि आक्रमण गर्दै हिन्दूमत प्रभावित गर्न खोजेका छन् । कोभिडले थिलथिलो भएको अर्थतन्त्र तंग्राउन सिन्को नभाँच्ने ओलीले राम मन्दिर र पशुपतिमा अर्बौं लगानी गरेर समग्रमा हिन्दू जनमतलाई आफूतिर तान्न खोजेका हुन् । बरु कोभिडको खोप मागेर ल्याउने तर हिन्दूमत आकृष्ट गर्ने राजनीतिक अभीष्टका लागि उनी निस्फिक्री लगानी गर्नेमा अग्रसर हुँदै छन् । अहंकार र अक्षमताका कारण सबैतिर असफलता हात लाग्न थालेपछि ओलीले धर्मलाई राजनीतिको कार्ड बनाएका छन् ।
किसानविरोधी नीति : मोदीको चीरकालीन किसानविरोधी नीति लुकेको विषय होइन । भारतमा किसानहरूको आत्महत्याको दर अत्यासलाग्दो छ । किसानविरोधी कानुनलाई लिएर अहिले भारतमा दिल्ली घेराउ किसान आन्दोलन छैटौँ महिनामा चलिरहेको छ । तर पनि मोदीले किसानविरोधी कानुन फिर्ता लिने कुनै संकेत देखाएका छैनन् । उस्तै शैलीमा ओलीले पनि यहाँ किसानविरोधी नीति अँगालेका छन् । यसको पछिल्लो उदाहरण उनको कृषिमा वैदेशिक लगानी भित्र्याउने कदम हो, जुन व्यापक विरोधका कारण तत्काललाई रोकिएको छ । नेपालका किसान बजारबाट मलसमेत किन्न नपाउने अवस्थामा छन्, जसमा सरकारले सिन्को भाँच्न पनि सकिरहेको छैन । माइतीघर मण्डलामा उखुकिसानको आन्दोलन सालिन्दा चल्छ । किसानले आफ्नो उपजको मूल्य पाउन सकिरहेका छैनन् । बिचौलियाले किसानको श्रम पसिना खुलेआम लुटिरहँदा पनि सरकार तमासे छ । किसानमाथि यत्रो अन्याय हुँदा पनि ओली सरकारले टुलुटुलु हेर्नेबाहेक केही गरेको छैन ।
बलात्कार र दलित हत्या : नेपाल र भारत दुवै मुलुकमा बलात्कार र हत्याको ग्राफ उक्लिँदो देखिन्छ । महिला, छोरीचेलीहरू समाजमा कतै पनि सुरक्षित छैनन् । त्यसैगरी, दुवै देशमा दलित हत्या पनि उत्तिकै डरलाग्दो रूपले बढिरहेको छ । निर्मला पन्त र भागरथीहरू बलात्कृत हुन्छन् र मारिन्छन् । तर, दोषी पत्तासम्म पनि लाग्दैन वा पत्ता लगाउने प्रयास सही ढंगले गरिँदैन । मोदी, ओलीको शासनमा बलात्कार–हत्या, दलित हत्याका घटना सामान्य ठानिन्छन् ।
ओली र मोदी दुवैको समान न्यारेटिभ निर्माण गरिएको छ । दुवैलाई सादगी नेताको रूपमा चित्रित र प्रस्तुत गरिँदै आएको छ । दुवैका बालबच्चा छैनन्, जसको कारणले उनीहरूलाई किन भ्रष्टाचार गरेर धन थुपार्नुपर्यो र ? सन्तान नभएकैलाई महान् सद्गुण देखाउँदै मोदी र ओलीको जयजय–गान गरेर देवत्वकरण गर्ने काम बेजोडले चलेको छ । उमेरको हिसाबले पनि जीवनको उत्तरार्द्धमा भएकाले उनीहरूले खासै धन कुम्ल्याउने कार्य गर्दैनन् भन्ने भाष्य जबर्जस्त स्थापित गर्न खोजिएको छ । तर, यिनै ओलीको कार्यकालमा भ्रष्टाचार, अनियमितता र अपारदर्शी आर्थिक एवं नीतिगत क्रियाकलापहरूको ग्राफ बढ्दै गएको छ ।
मोदीपथका ओली : ओलीको पछिल्लो राजनीतिक र शासकीय गतिविधिहरूले उनी मोदीको बाटोमा अग्रसर भएको देखिन्छ । उनले जसरी अहिले सत्ता राजनीति हाँकेका छन्, त्यो हेर्दा उनी राम मन्दिरको राजनीति गर्दै हिन्दू दक्षिणपन्थी नेता हुने ध्याउन्नमा देखिन्छन् । तर, ओलीले बिर्सिएको तथ्य के हो भने उनी न त कहिल्यै नेपाली संस्करणको भारतीय जनता पार्टी बन्न सक्नेछन्, न त नेपाली मोडेलको मोदी नै हुन सक्नेछन् । ओलीले खेलेको राजनीतिको यो तुरुप उनका लागि आउँदा दिनमा निकै घातक र अफापसिद्ध हुने पक्कापक्की छ । नेपाली राजनीतिको अँध्यारो सुरुङको यात्रा सुरु भइसकेको छ । देश र जनताले दुःख पाउने र त्यसको एकलौटी दोष वर्तमान प्रधानमन्त्री केपी ओलीमा थोपरिने पनि निश्चित छ ।
Source: Nayapatrika