Skip to main content

नेकपा धादिङ एकीकृत नहुँदै विग्रहमा

१३ फागुन २०७५ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय स्तरमा पार्टी एकीकरणको घोषणा भएको आठ महिना पुरा भएको छ ।
साङ्गठनिक एकताको लागि प्रदेश, जिल्ला र गाउँपालिका तथा नगरपालिका तहमा विभिन्न खिचातानीका कारण अझै एकीकरण घोषणा हुन सकेको छैन ।
धादिङ जिल्लामा एकीकरण घोषणा हुनुपूर्व नै कार्याकर्ताको मनोभावमा असर पर्ने गरी विवाद छताछुल्ल हुन थालेका छन् ।
पार्टी एकता पुरा हुनुको साटो समस्या झन बढेर गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले केन्द्रीय एकता कार्यदल समेत भंग गरिए पछि तल्लो तहको पार्टी एकता के हुने भन्ने द्धिविधा कार्यकर्ता पङ्तिमा बढेर गएको हो ।
केन्द्रिय तहमा दुई पार्टी बीच एकता भए पनि जिल्ला स्तरमा दुई पार्टीका नेता कार्यकर्ताहरु बीच आपसी छलफल तथा औपचारिक रुपमा संयुक्त बैठक समेत बस्न सकेको छैन ।
यसै सन्दर्भमा प्रदेश नं ३ को कार्यालयको परिपत्रलाई आधार बनाएर नेकपाका केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले धादिङ जिल्लाका विभिन्न गाउँ तथा नगरपालिका स्तरीय समितिहरुको एकताको लागि ३ सदस्यीय कार्यदल तोकिएको परिपत्र जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङमा विवाद चुलिँदैछ ।
लोहनीको परिपत्रलाई नोट गर्दै राजेन्द्र पाण्डे, पुष्पक्रिम मल्ल, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी लगायतका नेताहरुले प्रदेश कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।
नेकपा (एमाले) का पुर्व जिल्ला सचिव शिवराज कँडेल, नेकपा (माओवादी केन्द्र) का पुर्व जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारी र नेकपा (एमाले) का पुर्व जिल्ला उप सचिव शम्भु कुमार थापाको संयुक्त हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र प्रदेश नं ३ का ईन्चार्जलाई भेटेर बुझाउँदै केन्द्रिय सदस्य खेम प्रसाद लोहनीले गाउँ तथा नगरपालिकामा गरेको परिपत्र एकलौटी ढंगले निर्णय गरेको र सो हर्कत पार्टी एकता विरोधी भएको सोही अनुसारको गतिविधी भइरहेको बताए ।
संयुक्त हस्ताक्षरहेको पत्रमा कार्यकर्ता माझ विभाजन ल्याउन विभिन्न समितिहरुमा जवरजस्ती पत्र थमाईएको आरोप लगाउदै समानान्तर समिति निर्माण गर्ने सम्मको चेतावानीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० धादिङमा एकता भन्दा पहिले नै फुट्ने त हैन भन्ने त्रास कार्यकर्ता माझ देखिएको छ ।
धादिङ जिल्लाको नेतृत्वहरु बीच चलिरहेको यस किसिमको संवाद हीनताको अवस्था र गुट उपगुटको श्रृंखलाले दुवै कम्युनिष्ट पार्टी बीच भावनात्मक रुपमा एकता हुने भन्दा पनि एकीकृत नहुदै विग्रह हुने खतरा बढेर गएको देखिन्छ ।