२४ पुस २०७५ । धादिङ जिल्ला विभिन्न जातजाति, धार्मिक तथा साँस्कृतिक धरोहरको खानी जिल्ला मध्ये एक मानिन्छ । पुर्खाले छोडेर गएका विरासतहरुको जगेर्ना र प्रचार गर्दै वर्तमान पुस्ताले आफ्नो पहिचानको संरक्षण गर्दै आईरहेका छन् जुन एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरणको क्रम जारी छ । आफ्नो पहिचानको संरक्षण र पुस्तान्तरण गर्न सकेमात्र कुनै पनि जातिको ईतिहास र वर्तमान दिगो रहन्छ अन्यथा समयको गर्भमा लोप भएर जाने खतरा रहन्छ ।
विभिन्न जातजातिहरुको आफ्नै चाडपर्व तथा रितिरिवाजहरु छन् । धादिङ जिल्लाको हकमा विभिन्न जिल्ला केन्द्रित कार्यक्रमहरु विभिन्न चाडपर्व अनुसार मनाउदै आइरहेको पनि छन् तर आदिवासी जनजाति मध्येको एक “घले” जातिले माघ १ गते पर्ने केन्द्रिय घले (लिःल) ल्होसार–२०७५ धादिङवेसीमा पहिलो पटक मनाउने भएको छ । “हाम्रो ल्होसार हाम्रो शान–घले ल्होसार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ मनाउन लागि रहेको यस पर्वको तयारी जोडतोडका साथ भईरहेको छ । खि ल्हो (कुकुर वर्ग) को विदाई तथा फा ल्हो (मृग वर्ग) को स्वागत गर्दै मनाउन लागि रहेको घले (लिःल) ल्होसारको लागि देश भित्रका करीव ३६ जिल्लाबाट र देश बाहिर रोजगारीको सिलसिलामा रहेको करीव १५ देशहरुबाट ६–७ हजारको संख्यामा घले समुदायको उपस्थितीका साथ मनाइने ल्होसार पर्व वास्तवमै धादिङ जिल्ला र घले जातिको इतिहासमा कोसे ढुंगा सावित हुने आशा गरौ ।
कुल जनसंख्याको ०.०८ प्रतिशत जनसंख्या रहेको घले जातिको बसोबास उल्लेख्य मात्रा हुदाहुदै पनि केन्द्रिय स्तरको कार्यक्रमको पहिलो पटक आयोजना हुन गईरहेको छ तर पनि भव्यतापुर्वक हुनेमा कुनै शंका छैन । साँस्कृतिक विविधतायुक्त समाजका बासिन्दा हामी नेपालीहरु एक अर्काको पर्व तथा धर्म संस्कृतिलाई सदा श्रद्धा र सम्मान गर्दछौ । त्यसैले पहिलो पटक धादिङवेसीमा सम्पन्न हुन गईरहेको घले (लिः ल) ल्होसार–२०७५ को हामी सवैले हृदयदेखि नै स्वागत गर्दै जिल्लाको साँस्कृतिक पहिचानको रक्षा गरौ ।