Skip to main content

धादिङ समाज युएईको नेवुलाइजर अभियान बारे : हरि नेपाली

रोजगारीको सिलसिलामा विदेशमा रहेर पनि देश भित्रको हरेक समस्या सँग निरन्तर जुध्दै अघि बढिरहेको प्रवासी धादिङेलीहरुको साझा संस्थाको नाम हो धादिङ समाज युएई ।
गरिवीको चपेटाबाट पीडित धादिङबासीहरुको उपचारका लागि आर्थिक सहयोग जुटाउन होस् या दुर्घटना परेका मृतक तथा घाइतेका परिवारहरुलाई आर्थिक सहयोग जुटाउन होस् अहोरात्र लागि परिरहेकै छ । प्राकृतिक प्रकोपमा परेका धादिङवासीहरुको लागि त सदैव तम्तयार छ नैहरेक नेपालीहरुलाई परेको समस्याको लागि पनि कहिल्यै पछि हटेको छैन ।
युएईमा रहेका अन्य नेपाली संघ संस्थाहरु सँग पनि हातमा हात र काँधमा काँध जोडेर नैतिक, आर्थिक तथा सम्भव भए सम्म भौतिक सहयोगको लागि हरतरहले लागि परि रहेका छ । सन् २००४ मा स्थापना भएर पटक–पटक निस्क्रिय भए पनि धादिङ समाज पछिल्लो समय युएई भरि कै सक्रिय संस्था र विश्व भरि रहेका धादिङ जिल्ला अन्र्तगतका संस्थाहरु भन्दा सक्रिय रहेर आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ जुन हामी सम्पुर्ण धादिङवासीहरुको लागि गर्वको विषय हो ।
नेपाल सरकारको वर्गीकरण अनुसार हिमाली जिल्ला अन्र्तगत पर्ने धादिङ जिल्ला देशको संघीय राजधानी काठमाडौ सँग जोडिएको जिल्ला भए पनि बत्ती मुनिको अँध्यारोको रुपमा परिचित छ । विकास तथा प्रविधीको क्षेत्रमा अन्य जिल्लाहरु भन्दा पछाडी नै रहेको छ भन्दा अतिसयोक्ति नहोला ।
धादिङ जिल्लाले धेरै व्यक्तिहरु जन्माएर राजधानी पठाइ सकेको छ तर ती व्यक्तिहरु कोही राजधानीको कोलाहाल मै हराए, कोही देश र जनताको नाम भजाएर आफैलाई सपार्न तिर लागे, एकाध मात्रै जिल्लाको लागि केही गर्नुपर्छ भनेर आए पनि उनीहरुको प्रयास “हात्तीको मुखमा जीरा” सरह भईरहेको छ तर पनि आफ्नो गाउँ र जनताको लागि केही गर्छु भन्नेहरुलाई हर तरहले सहयोग गर्नु हामी सवैको कर्तब्य हो ।
समग्र देश विकासको लागि कुनै एक व्यक्तिको उर्जा भन्दा पनि सरकारी तहबाट योजना, नीति नियम निर्माण तथा कार्यान्वयन एवं अनुगमनको ठुलो खाँचो पर्ने गर्छ त्यसको लागि आम नागरिकहरुले गर्ने नैतिक तथा भौतिक सहयोग त आफ्नो ठाउँमा छदैछ । तर सरकारी स्तरबाट शिक्षा, स्वास्थ्य लगायत जनताका आधारभुत आवश्यकताको क्षेत्रमा प्रभावकारी ढंगले काम हुन सकिरहेको छैन जसले गर्दा आम जनताहरुले अभावपुर्ण जिन्दगी व्यतित गर्नु परिरहेको छ ।
जनताको नैसर्गिक अधिकारको रुपमा रहेका शिक्षा, स्वास्थ्यहरु एक त शहरी क्षेत्रमा मात्र सिमिति छ भने अर्कोतिर एकदमै खर्चालु र महँगो हुनाले सर्वसाधारणको पहुँचबाट टाढा रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त जानकारी अनुसार धादिङ जिल्लामा ७० भन्दा बढी स्वास्थ्य संस्थाहरु रहेका छन् । हिमाली जिल्ला र अधिकाँस भु–भाग चिसो क्षेत्र रहेको हँुदा चिसो र श्वास प्रश्वासको समस्याबाट जनजीवन कष्टकर हुने र ग्रामिण क्षेत्रमा आवश्यक स्रोत र साधनको अभावमा उपचार हुन नसक्ने रोगहरुबाट धादिङका जनताहरु जुध्दै आइरहेका छन् ।
यसैलाई मध्यनजर गर्दै धादिङ समाज युएईले जिल्ला समन्वय समिति धादिङ, जिल्ला स्वास्थ्य कार्यालय धादिङ, जिल्ला प्रशासन कार्यालय धादिङ लगायत जिल्लाका विभिन्न सरोकारवाला निकाय तथा प्रबुद्ध व्यक्तित्वहरु सँग आवश्यक परामर्ष र छलफल गरि धादिङका ६५ वटा सरकारी स्वास्थ्य संस्थाहरुलाई “नेबुलाईजर” वितरण गर्ने निश्चित गरेर अभियान समेत संचालन गरेको छ ।
स्वास्थ्य समुन्नत र समृद्ध समाजको लागी अनिवार्य सर्त हो । वदलिदो जीवन शैली, विश्व वातावरणीय प्रभाव, वंशाणुगत कारणहरुले मानव जीवनमा विविध स्वास्थ्य समस्याहरु देखा पर्दै आइरहेको छ । विभिन्न स्वास्थ्य समस्याहरु मध्ये स्वास–प्रश्वास सम्वन्धि समस्या नेपालमा मात्रै नभई विश्वभरि नै एक प्रमुख समस्याको रुपमा रहेको छ । यसमा दम रोग, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग, सिस्टीक फीब्रोसिस, ब्रोङकाइटिस लगायतका रोगहरु पर्ने गर्छन ।

सम्पति हुने धनाढ्यहरु त देश भित्र या बाहिरको जुनसुकै अस्पतालमा पुगेर उपचार गराउन समर्थ रहन्छन् तर सुविधा सम्पन्न अस्पतालको पहुँच भन्दा बाहिर रहेका धादिङका ग्रामिण भेगका स्थानीय बासीहरुलाई नजिकैको स्वास्थ्य संस्थामा स्वास–प्रश्वास जन्य समस्याहरुबाट केही हद सम्म भएपनि न्यून गर्न सफल भई बाँचुञ्जेल सजिलो सँगश्वास लिन पाइयोस् भन्ने भावना, अवधारणा र सोचका साथ धादिङ समाज युएईले यो अभियान सुरुवात गरेको हो ।
नेपालमा विगत देखि नै वर्षेनी विविध स्वास्थ्य समस्या मध्ये श्वास–प्रश्वास सम्बन्धी रोगहरुले ८ देखि १० प्रतिशत मानिसहरुको जीवन कष्टकर वनाउँदै लगेको देख्न सकिन्छ । हाम्रो जस्तो कृषि प्रधान देशमा ग्रामिण किसानहरुको धुलो, धुवाँ र धुम्रपानको त्रिपक्षीय संसर्गले श्वास प्रश्वास सम्वन्धी समस्याहरु बढ्दै गइरहेको पाइन्छ भने सँगसँगै शहरी क्षेत्रमा बढ्दै गएको वायु प्रदुषणले निम्त्याएको असामान्य वातावरणीय प्रभाव र असरहरुबाट मानव लगाायत जीवहरुको स्वास्थ्यमा झनै चुनौती थपिएको छ ।
यसर्थ सुविधा सम्पन्न स्वास्थ्य सेवाको सहज पहुँच नभएका हाम्रा गाउँ वस्तीहरुका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीले सजिलै सञ्चालनमा तथा प्रयोजनमा ल्याउन सक्ने हुँदा प्रभावित सेवाग्राहीहरुलाई नेबुलाइजर एकदमै जीवनोपयोगी र बरदानयुक्त साधन बन्न सक्छ ।
के हो त नेबुलाइजर 
एक यन्त्र जसले आफ्नो नाम आफै बताउछ नेबुला को अर्थ धुँवा या बादल भन्ने जनाउछ । यसले औषधीलाई धँुवाको रुपमा बदलेर नली र मास्कको माध्यमबाट श्वास नलीबाट फोक्सोको विभिन्न भागमा पु¥याएर स्वास प्रश्वासलाई सजिलो बनाउने काम गर्छ । नेबुलाइजरको माध्यमबाट शरिरको श्वास प्रश्वास अंगको भित्री भागमा औषधीलाई बाफको रुपमा पठाएर श्वास प्रश्वास अंगको उपचार गर्ने काम गर्छ ।

नेबुलाइजरले कसरी काम गर्छ ?
श्वास प्रश्वासका कोषिकाहरुले एकप्रकारको इन्जाइम उत्पादन गर्छ जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वास प्रश्वास नलीमा ब्यवधान उत्पन्न गराउछ र मानिसलाई श्वास फेर्नमा अप्ठ्यारो महसुस भई खोकी लाग्ने, स्वाँस्वाँहुने छाती कस्सिने लगायतका लक्षणहरु देखा पर्ने गर्छ । यस्तो अवस्थामा अन्य तरीकाबाट विरामीलाई औषधी दिन प्राय असम्भव नै हुने गर्छ र नेबुलाइजरको माध्यमबाट विरामीको श्वास नलीहुदै औषधीलाई बाफको माध्यमबाट फोक्सोको संक्रमित भागमा पु¥याएर विरामीलाई उपचार गर्ने गरिन्छ ।

नेबुलाइजर प्रयोग गर्ने आधारभुत तरीका
नेवुलाइजरमा एउटा औषधी कक्ष रहेको हुन्छ जसलाई नलीको माध्यमबाट कम्प्रेसरमा लगेर जोडिन्छ । नेबुलाइजरमा नली सँगै माउथ पिस समेत रहेको हुन्छ जसलाई बिरामीले मुख या नाकमा राख्न सक्छन् । जब औषधी कक्षमा राखेको औषधी कम्प्रेसरको माध्यमबाट नली हुदै माउथ पिस मार्फत नाक वा मुखको माध्यमबाट शरीर भित्र प्रवेश गराइन्छ । यो प्रक्रिया विशेष गरी पाँच देखि दश मिनेट सम्म गरिन्छ ।

यसर्थ चिसोबाट लाग्ने श्वास प्रश्वास सम्बन्धी अधिकतम रोगको उपचारका लागि “नेबुलाइजर” एकदम उपायोगी साधन हो । जुन नजिकको स्वास्थ्य संस्थामा उपलब्ध नहुदा अधिकतम गरिवीको रेखामुनि रहेका धादिङ जिल्लाका विरामीहरुले आफ्नो उपचारको लागि सदरमुकाम तथा राजधानी सम्म धाउन सक्ने स्थिती नै छैन र रोग पालेर बस्नु पर्ने अवस्था छ ।
त्यसैलाई मध्यनजर गर्दै धादिङ समाज युएईले यही आउदो दशै सम्ममा सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने गरि जिल्लाका ६५ वटा स्वास्थ्य संस्थालाई प्रति स्वास्थ्य संस्था एकवटा पुग्ने गरी ईलेक्ट्रोनिक नेवुलाईजर वितरण गर्न आर्थिक संकलनको कामसुरु गरिसकेको छ । जुन हाम्रो जस्तो सहज रुपमा स्वास्थ्य सेवाको पहुँचन भएका विकट र दुरदराजका गाउँ वस्तीहरुमा बसोबास गर्ने आमजनताहरुको लागि कोसेढुंगा हुने निश्चित छ ।
(लेखक धादिङ समाज युएईका सल्लाहकार पनि हुन्।)